काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन्।
युक्रेन संकट बढिरहेका बेला पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको आरोप लगाए। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको बताएका छन्।
रुसले युक्रेनको सिमाना नजिकै ठूलो संख्यामा सेना तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ। रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ।
मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ। त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गर्छन्।
मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि बोल्दै पुटिनले भने, 'मलाई लाग्छ संयुक्त राज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन। तर यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो। युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नको लागि एउटा मोहोरा मात्र हो भन्ने देखिन्छ।' विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको प्रतिद्वन्द्व शीतयुद्ध काल देखिको हो। युक्रेन त्यतिबेला कम्युनिस्ट सोभियत संघको महत्त्वपूर्ण हिस्सा रहेको थियो।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशमाथि हुने कुनै पनि रुसी आक्रमणले युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन्। उनले त्यस्तो भएमा त्यो निकै दुःखद् हुने बताए। जेलेन्स्कीले युद्ध नचाहेको देखाउने रुसको एकमात्र तरिका भनेको युक्रेनको सिमानाबाट आफ्ना सेना फिर्ता गर्नु भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।