काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन्।
बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा मंगलबार अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए।
पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए। 'पूर्वाधार, श्रम सम्बन्ध, विद्युत् आपुर्ति आदिमा उल्लेख्य सुधार भइरहेको छ,' उनले भने, 'हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ।'
नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल-बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए। 'बेलायत अब ईयूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौं,' उनले भने, 'यो मेरो प्राथमिकतामा रहेको विषय हो।'
राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए। यसले तरलता अभावको अहिलेको अवस्था केही सहज हुने उनले बताए। दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार-प्रसार गर्न पनि उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।