काठमाडौं– नेपालमा हायर पर्चेज कर्जाको ब्याजदर बढेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार मोटरसाइकल तथा गाडीको फाइनान्सिङ दर १ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा कारोबार सञ्चालन गर्न इजाजतप्राप्त कम्पनीहरूका लागि जारी गरिएको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० (दोस्रो संशोधन २०७५)’ लाई फेरि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। अब औसत ब्याजदर १० प्रतिशत कायम भए त्यसमा अर्को ४ प्रतिशत थपेर १४ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन्।
यसअघि यस्तो प्रकृतिको कर्जामा ३ प्रतिशतभन्दा बढी नहुने गरी मार्जिन कायम गर्नुपर्ने व्यवस्था थियो। धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरिएको छ। तेस्रो संशोधनसँगै अब हायर पर्चेज कर्जा दिने कम्पनीले पनि एक सञ्चित कोष कायम गर्नुपर्ने भएको छ । संशोधनमा कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था पनि गरिएको छ।
चुक्ता पुँजीको दोब्बर भइसकेपछि भने हरेक आर्थिक वर्षमा नाफाको १० प्रतिशत रकम सो कोषमा छुट्याउनु पर्नेछ। सञ्चित कोषमा जम्मा भएको रकम राष्ट्र बैङ्कको स्वीकृतिबिना अन्य शीर्षकमा खर्च नपाइने व्यवस्था नयाँ संशोधनमा गरिएको छ। अहिले देशमा १० वटा कम्पनीले हायर पर्चेज कारोबार गर्ने प्रयोजनको अनुमति लिएर काम गरिरहेका छन्।
हायर पर्चेज कारोबार गर्ने प्रयोजनको अनुमति लिएर काम गरिरहेका कम्पनीबाट फाइनान्सिङ गर्दा ग्राहकले सवारी किन्दा छुट्टै बैंक खोजिरहनु नपर्ने, कागजात जुटाइरहने झन्झट बेहोर्नु नपर्ने सुविधासँगै यस्ता कम्पनीको फाइनान्सिङको ब्याजदर भने तुलनात्मक रूपमा महँगो हुने गर्दछ। नयाँ संशोधनसँगै अब यस्तो ब्याजदर बैङ्कको भन्दा ४ प्रतिशतसम्म महँगो हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।