काठमाडौं- युक्रेनसँगको सीमामा रुसले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न बोलाइएको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा अमेरिका र रुसबीच चर्काचर्की भएको छ।
बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप चलेको हो । राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। उता रुसी राजदूतले भने विश्वमा अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ।
सोमबारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए।
रुसले आफ्नै क्षेत्रमा सेनाको परिचालन गरेको भन्दै त्यो अमेरिकाको सरोकारको विषय नै नभएको उनको भनाइ छ। नेबेन्ज्याले बाइडेन प्रशासनले 'तनाव र बयानबाजी गर्दै उक्साएको' आरोप लगाए।
'यो हाम्रो देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप मात्र होइन, यस क्षेत्रको वास्तविक अवस्था र वर्तमान विश्वव्यापी तनावका कारणबारे अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्ने प्रयास पनि हो' बैठकमा उनले भने।
अमेरिकी राजदूत ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताइन्। तर यदि रूसले युक्रेनमा आक्रमण गरेमा अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा भयानक हुने उनले चेतावनी दिइन्।
यसैबीच रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र बेलायतले थप प्रतिबन्ध लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बेलायती विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताइसकेकी छन्।
एक अमेरिकी अधिकारीका अनुसार वासिंटनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।