काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ सल्लाहकारका रुपमा भारतीय रघुराम श्रीनिवासलाई नियुक्त गरेको छ।
क्यानले फेब्रुअरी तेस्रो सातादेखि ओमानमा हुने आईसीसी टी२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणको लागि श्रीनिवासलाई फिल्डिङ सल्लाहकारमा नियुक्त गरेको हो। उनी आइतबार नेपाल आइपुगेका छन्।
क्यानका अनुसार उनी ए लेभलका प्रशिक्षक हुन्। यसअघि पुबुद दासानायेके अमेरिका मुख्य प्रशिक्षक हुँदा श्रीनिवाससँगै काम गरेका थिए। ‘उनी उर्जावान फिल्डर हुन्। नेपाली क्रिकेटको अभावमा केही पूरा गर्न सक्छन्। छोटो समयमा बहुमूल्य समय दिएकोमा आभारी छु,’ पुबुदुले भनेका छन्।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ। नेपाली टोली फेब्रुअरी ८ वा ९ मा ओमान जाने तयारी गरेको छ। ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।