काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट नआत्तिएको बताएका छन्। शनिबार पार्टी निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरु जुनसुकै बेला चुनावमा जान तयार रहेको बताए।
‘हामी चुनावसँग आत्तिएका छैनौं। वैशाख, जेठ, असार या असोजमा चुनाव गर्ने हो भने सामना गर्न तयार छौं। स्थानीय तहको निर्वाचन पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। केन्द्रीय वा प्रदेश सभाको चुनाव पहिले हुन्छ भने पनि हामी सामना गर्न तयार छौं’, उनले भने, ‘जनतामा जाने कुरालाई हामी सहज, स्वभाविक र अझ खुसी पनि हुन्छौं।‘
उनले २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भन्दै कुन निर्वाचनलाई आधार मान्ने भन्ने विवाद रहेको बताए। ‘तीन चरणमा चुनाव भएको हुनाले पहिलो चरणलाई आधार मान्ने कारण के? यो बुझ्न सकिएको छैन। जबकि, वैशाखलाई आधार मान्ने हो भने असोजमा भएको चुनावबाट निर्वाचित भएका व्यक्तिहरुले पाँच वर्षे अवधि पूरा गरेका हुँदैनन्। त्यसलाई कुन वैधानिक आधारमा पुष्टि गर्न सकिन्छ? कुन तर्कको आधारमा पुष्टि गर्न सकिन्छ? त्यो बुझ्न सकिएको छैन‘, उनले भने।
अध्यक्ष नेपालले संविधानमा लेखिएको कुरालाई सबैभन्दा पहिले ध्यानमा राख्नुपर्ने बताए। संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकाल पाँच वर्षमा समाप्त हुने र त्यसको ६ महिनाभित्र अर्को निर्वाचन गर्नुपर्ने उल्लेख भएको भन्दै उनले जतिसुकै विवाद भए पनि असोज २ गते निर्वाचन भएको मितिलाई आधार मान्न सकिने बताए। ‘मतपरिणामको हिसाबले २०७९ असोजको पहिलो दोस्रो हप्तालाई आधार मान्न सकिएला। त्यसको ६ महिनाभित्र अर्थात् चैतसम्ममा चुनाव गर्न सकिएला’, उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।