काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बाब्वे क्रिकेट टोलीका पूर्वकप्तान ब्रेन्डन टेलरमाथि साढे ३ वर्षको प्रतिबन्ध लगाएको छ।
आईसीसीले शुक्रबार सामाजिक सञ्जालमार्फत् उनलाई ‘एन्टी करप्सन एन्ड डोपिङ कोड’ अन्तर्गत साढे ३ वर्षको प्रतिबन्ध लगाएको जानकारी दिएको हो। जिम्बाब्वेका पूर्वकप्तानले प्रतिबन्धको अवधिसम्म क्रिकेटको कुनै पनि फर्म्याट खेल्न पाउने छैनन्।
आईसीसीका अनुसार टेलरले भ्रष्टाचार विरोधीसंहिता अन्तर्गत ४ र एन्टी डोपिङ संहिताअन्तर्गत एक आरोप स्वीकार गरेका छन्। सन् २०१९ मा भारत भ्रमणका क्रममा कोकिनको प्रयोग गरेको गोप्य भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलमा परेका कारण आफूले अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गर्नुपरेको टेलरले स्वीकार गरेका हुन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत उनले प्रस्ट्याएका छन्।
‘सन् २०१९ को अक्टोबरमा एक प्रायोजनबारे छलफलका लागि मलाई भारत बोलाइएको थियो। सोही दौरान व्यापारीसँगको रात्रिभोजमा मलाई कोकिन दिइएको थियो र त्यहीबेला गोप्य भिडियो खिचेर मलाई फिक्सरले ब्ल्याकमेल गरेका थिए,‘टेलरले भनेका छन्,‘त्यस दिन बिहानै म बसेको होटलमा एक जना मानिस आए। उनले त्यो भिडियो देखाउँदै यदि मैले म्याच फिक्सिङ गरिनँ भने भिडियो सार्वजनिक गर्ने धम्की दिए।’
टेलरले आईसीसीलाई त्यो घटनाबारे जानकारी गराउन ४ महिना लगाएका थिए। जुन आईसीसीको नियमविपरीत र भ्रष्टाचार ठहर हुने उनले स्वीकारेका छन्। साथै उनले आईसीसीद्वारा उनीमाथि लगाएको प्रतिबन्ध पनि स्वीकार गरेका छन्।
टेलरले १७ वर्षे अन्तर्राष्ट्रिय करियरमा जिम्बाब्वेबाट ३४ टेस्ट, २०५ एकदिवसीय र ४५ टी२० क्रिकेट खेलेका छन्। उनले सन् २००२ देखि २०२१ सम्म जिम्बाब्वेको राष्ट्रिय टोलीबाट खेलेका थिए। यसबीच इङ्ल्यान्डमा काउन्टी क्रिकेट खेल्न उनले सन् २०१५ मा तीन वर्षको अन्तर्राष्ट्रिय विश्राम पनि लिएका थिए।
इङ्ल्यान्ड जानुअगाडि उनी सन् २०११ देखि जिम्बाब्वेका कप्तानसमेत रहेका थिए। उनी जिम्बाब्वेबाट टेस्ट क्रिकेटमा सर्वाधिक धेरै रन बनाउने क्रिकेटर पनि हुन्। एकदिवसीयमा भने उनी दोस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।