काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीका विभिन्न तहका नेताहरुबाट रिपोर्टिङ लिने कार्यलाई तीव्रता दिएका छन्। गत सोमबार चीनको सेन्जेनबाट स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएपछि नेता पुनले पार्टीभित्र र बाहिर भइरहेका राजनीतिक गतिविधिका विषयका रिपोर्टिङ लिने क्रम अगाडि बढाएका हुन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य नेताहरुसँगको भेटमा पुनले पछिल्लो राजनीतिक अवस्थाका विषयमा जानकारी लिएका छन्। ‘अध्यक्ष प्रचण्डसहित पार्टीका विभिन्न तहका नेताहरु कोही भेट्न आउँदा र कसैलाई बोलाएर पार्टीभित्रको अपडेट लिइरहनुभएको छ,’ पुननिकट एक नेताले भने, ‘तर, आफ्नो बारेमा भेट्न आउने नेताहरुलाई खुलेर अझै बताउनुभएको छैन। महासचिवकै शैलीमै भेटघाटलाई तीव्रता दिएर सन्देश दिन खोजेको देखिन्छ।’
पुनले माघ २७ गते हुने पदाधिकारीको निर्वाचनमा जुट्ने तयारी गरेका हुन्। माघ २७ गते पदाधिकारीसहित स्थायी समिति, पोलिट ब्यूरो र बाँकी केन्द्रीय समितिको निर्वाचन हुने भएकाले त्यसलाई मध्यनजर गरेर पुनले भेटघाट बढाएका छन्।
गत असोजमा बिरामी भएपछि पुनले राजनीतिक भेटघाट बन्द गरेका थिए। गत सोमबार चीनको सेन्जेनबाट उपचार गरेर फर्किएपछि भने उनले दैनिक भेटघाटलाई बढाउँदै महासचिव पदको दाबेदारीको सन्देश दिन खोजेको उनीनिकट नेताको भनाइ छ।
पुन प्रचण्डलाई भेट्न गत मंगलबार प्रचण्डनिवास खुमलटारमै पुगेका थिए। अर्थमन्त्री जनार्दन शर्मा, शिक्षामन्त्री देवेन्द्र पौडेल, ऊर्जामन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका साथै पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव गुरुङलगायत नेताहरु पुनलाई भेट्न उनको निवास खुमलटार पुगेको उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, झक्कुप्रसाद सुवेदी, खेलकुदमन्त्री गहतराज उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलै पुगेका थिए। अरु पार्टीका नेताहरुले दैनिकजसो भेटेर स्वास्थ्यका बारेमा चासो राख्नुका साथै राजनीतिक विषयमा कुराकानी गर्ने गरेको स्वकीय सचिव पुनले बताए।
नेता पुनले आफू पार्टी महासचिवको प्रमुख दाबेदार भएको संकेत नेताहरुसँगको भेटमा दिएका छन्। स्वास्थ्यमा उल्लेख्य सुधार भइसकेकाले पहिलेकै अवस्थामा सक्रिय भएर लाग्ने उनले बताउँदै आएका छन्। उनले स्वदेश फर्कनेक्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासचिवमा आफ्नो दाबेदारी स्वाभाविक भएको बताएका थिए। पार्टीको महासचिव पदमा पुनबाहेक शर्मा, भुसाल, गुरुङ र गिरिराजमणि पोखरेलले पनि दाबी गर्दै आएका छन्।
गत असोजमा पुनलाई विश्वमा विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा बढेपछि ललितपुरको सुमेरु अस्पलता भर्ना गरिएको थियो। उनको स्वदेशमा उपचार हुन नसकेपछि थाईल्याण्ड हुँदै चीनको सेन्जेन पुर्याएर उपचार गरिएको थियो। त्यहाँबाट उनी निको भएर फर्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।