रोल्पा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी प्रदेश भएको बताएका छन।
रोल्पा सदरमुकाम लिवाङमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा गठबन्धन बन्नु अघि नै लुम्बिनीले गठबन्धनको शुरुआत गरेको बताए।
तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको उच्चस्तरीय नेतृत्वको सहभागिताबाट बनेको लुम्बिनी प्रदेशको गठबन्धनले खैलाबैला मच्चाएपछि मात्रै केन्द्र र अन्य प्रदेशमा गठबन्धन बनेको उनको भनाइ छ।
‘गलत धारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको हो’, मुख्यमन्त्री केसीले भने, ‘जनयुद्धकालीन तिक्तताका कारण आग्रह–पूर्वाग्रह देखिए पनि यो धारको संरक्षण गर्दै अघि बढ्नुको विकल्प छैन।’
लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री केसीले केन्द्रीय गठबन्धनको निर्णय अनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन चल्ने बताए। लुम्बिनी प्रदेशमा गठबन्धन वन्दा केन्द्रमा गठबन्धन नभएकाले आधा/आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएपनि त्यसपछि कहाँ कसको नेतृत्वमा सरकार रहने भन्ने विषय केन्द्रबाटै हुने गरेको मुख्यमन्त्री केसीको भनाइ थियो।
नेपालमा गठबन्धन संस्कार निकै चूनौतीपूर्ण रहेको समेत मुख्यमन्त्री केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।