काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब १० खर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ। भन्सार विभागले प्रकाशित गरेका तथ्यांक अनुसार पुस मसान्तसम्म ९ खर्ब ९९ करोड रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको थियो। गत आवको तुलनामा चालु आर्थिक वर्षमा यस्तो आयात ५१.१३ प्रतिशतले बढेको हो।
आयातअनुसार निर्यात हुन नसक्दा नेपालको ब्यापार घाटासमेत उच्च बनेको छ। समीक्षा अवधिमा व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा ६ खर्ब रुपैयाँ बराबरको ब्यापार घाटा यस वर्ष ४६.६४ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। गत आवको सोही अवधिमा ६० अर्ब ७९ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो। कुल ब्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत छ भने निर्यातको हिस्सा १०.६३ प्रतिशत छ।
यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। चालु आवको ६ महिनामा ६१ अर्ब ४७ करोड रुपैयाँको डिजेल आयात भएको छ भने सोयाविन तेल पनि ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ। यस्तै २९ अर्ब २७ करोड रुपैयाँको पेट्रोल आयात हुँदा २९ अर्ब २३ करोड रुपैयाँको ग्यास र २७ अर्ब ४९ करोड रुपैयाँको पाम तेल आयात भएको छ।
यस्तै निर्यात तर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै छ। प्रशोधन गरिएको पाम तेल ११ अर्ब भन्दा धेरैको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएको छ।
चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट सो अवधिमा रु छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ।
यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ र९६ अर्ब ५६ करोड तथा चीनतर्फ र४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।