काठमाडौं– विगत सात वर्षदेखि नक्कली मह उत्पादन गरी बिक्री गर्दै आएका एक व्यक्तिलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई ठमेल ज्याठामा नक्कली मह उत्पादन गर्दै आएका ३८ वर्षीय नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठ छन्।

उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो। लामो समयदेखि नक्कली मह उत्पादन हुने गरको सूचना आएपछि ‘अपरेशन हनी’ नाम दिएर प्रहरीले अपरेशन सुरु गरेको थियो। प्रहरी अनुसन्धानको क्रममा गुणस्तरहीन मह उत्पादन गर्ने गरेको पाइएपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले ७ हजार ६ सय किलो गुणस्तरहीन महसमेत बरामद गरेको छ। उनले विगत ७ वर्ष अगाडिदेखि श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्दै आएको खुलेको छ। नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री गर्ने गरिएको थियो।

उनले गुणस्तरहीन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टमा थोक तथा खुद्रा बिक्री गर्ने गरेका थिए। मह बनाउन प्रयोग हुने कच्चा पदार्थ भने दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनले गुणस्तरहीन मह बनाई प्रति किलो ६५० रुपैयाँमा बिक्री बितरण गर्दै आएको अनुसन्धानबाट खुलेको छ। उनले सञ्चालन गर्दै आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्तासमेत भएको पाइएको छ।
श्रेष्ठले गुणस्तरहीन मह बनाउन ग्लुकोज, चिनी र अन्य मह बनाउन प्रयोग हुने कच्चा पदार्थ प्रयाेग गरेका थिए।
स्पर्स हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको समेत भएको पाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।