काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना नै नगरेको बताएका छन्।
सत्तारुढ दलभित्र स्थानीय तह वा संसदीय निर्वाचनमध्ये कुन पहिले गर्ने भन्ने विषयमा विवाद रहेकै बेला कांग्रेस महामन्त्री थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुने बताएका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत् धारणा सार्वजनिक गर्दै उनले सरकारका हरेक निर्णय संविधानसम्मत हुनुपर्ने बताएका छन्। थापाले वर्तमान सरकार असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको भन्दै हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताएका हुन्।
'हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अत: निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ', थापाले भनेका छन्, 'कांग्रेस प्रष्ट छ- असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।'
स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न भन्दै बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको सत्ता गठबन्धन आवद्ध नेताहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत स्थगित गरिएको छ। यसअघि मंगलबारको बैठकमा ठोस सहमति नजुटेपछि आजका लागि बैठक तय गरिएको थियो।
यता, निर्वाचन आयोगले आउँदो वैशाख तेस्रो साताभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने भन्दै सरकारलाई मिति समेत प्रस्ताव गरिसकेको छ। तर, सरकारले यसबारे निर्णय गरिसकेको छैन।
सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने संसदीय निर्वाचन गर्नुपर्ने बताएका छन्। एमालेले निरन्तर संसद् अवरोध गरेको भन्दै उनले स्थानीय भन्दा पहिले संसदीय निर्वाचन गर्नुपर्ने बताएका छन्।
वैशाख तेस्रो साताभित्र निर्वाचन नगरे स्थानीय तह जनप्रतिनिधिविहीन हुने निर्वाचन आयोगको भनाइ छ। एमालेले समेत स्थानीय तहलाई जनप्रतिनिधिविहीन राख्न नहुने भन्दै वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा सार्वजिनक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।