एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाही।
जाजरकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको भातृ संगठन अखिल क्रान्तकारीले जाजरकोटका एक वडाध्यक्षलाई मोसो दलेपछि एमालेले त्यसको प्रतिवाद गरेको छ।
जिल्लाको छेडागाड नगरपालिका–६ का वडाध्यक्ष एवं एमालेको जिल्ला कमिटी सदस्य रामबहादुर केसीलाई बुधबार विप्लवनिकट विद्यार्थीले मोसो दलेका थिए। घटनाको विरोधमा विज्ञप्ति जारी गर्दै एमाले जाजरकोटले 'क्रान्तिकारी मजाक' नगर्न चेतावनी दिएको छ।
वडाध्यक्ष केसीले जनविकास माविको फिल्ड निर्माणबाट ९ लाख रूपैयाँ हिनामिना गरेको, ७० लाखको सडक आयोजनाबाट १७ लाख घुस खाएको, सडक स्तरोन्नतिमा ५ लाख रूपैयाँ हिनामिना गरेको अखिल क्रान्तिकारीको आरोप छ।
उनलाई मोसो दलेर जुत्ताको माला लगाएका विषयमा स्पष्टीकरण वक्तव्य जारी गर्दै अखिल क्रान्तिकारीले केसीले विभिन्न आयोजनाको रकम हिनामिना गरेको, घुस खाएको, वडासचिवको कीर्ते हस्ताक्षर गरेर चेक साटेको, स्वास्थ्य चौकीको सोलार खरिदमा कमिसन मागेर रकम निकासा नदिएको लगायतका आरोप लगाएको छ।
बुधबार नै एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले विज्ञप्ति जारी गरेर सार्वजनिक पद धारण गरेको जो कोही व्यक्तिले कमजोरी गरे उसलाई कानुनी दायरामा ल्याउने संवैधानिक र कानुनी बाटाहरू हुँदाहुँदै अखिल क्रान्तिकारीले गैरकानुनी काम गरेको टिप्पणी गरेका छन्। उनले आगामी दिनमा यस्ता काम नगर्न चेतावनी समेत दिएका छन्। वडाध्यक्ष केसीले असल र जनप्रेमी काम गरिरहेको एमालेको दाबी छ।
'नेपाल कम्युनिस्ट पार्टीसँग आवद्ध अखिल क्रान्तिकारी बताउने केही झुण्डले संविधान र कानुनभन्दा माथि आफूलाई ठान्दै सार्वजनिक रुपमा कालो मोसो दलेर उहाँको व्यक्तिगत र राजनैतिक छबिमा आँच पुर्याउने गरि गरिएको हर्कतप्रति हामो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ', एमालेको विज्ञप्तिमा भनिएको छ, 'उक्त समूहले सामजिक सञ्जालमा व्यक्त गरेका आरोपहरुको सप्रमाण खण्डन गर्न हामी यसै विज्ञप्तिमार्फत चुनौती दिन चहान्छौं। आगामी दिनमा यसखालका गलत हर्कत र क्रान्तिकारी मजाक नगर्न सम्बन्धित व्यक्ति र समूहलाई चेतवानी दिन चहान्छौं।'
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर अविलम्ब कारबाही गर्न एमालेले जाजरकोटले स्थानीय प्रशासनसँग माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।