काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरु आउँदो वैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन्।
स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले वैशाखमा निर्वाचन गर्न सहमत भएको बताएका हुन्।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धनका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यस्तो सहमति जुटेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कुरामा गठबन्धनका दलहरु एकमत छन्,’ कार्कीले भने,‘ आजको बैठक पनि राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्ने र समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा नै केन्द्रित थियो।’
यस विषयमा थप छलफल गर्न बिहीबार फेरि गठबन्धनको बैठक बस्ने जानकारी उनले दिए। बिहीबार मन्त्रिपरिषद् बैठकसमेत बस्दैछ।
‘निर्वाचन समयमा नै सम्पन्न हुन्छ। संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमत छन्,’ कार्कीले भने, ‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ। फेरि परामर्श गरेर संविधानले तोकेकै समयमा चुनाव गरेर संघीयतालाई मजबुत बनाउँदै अघि बढ्ने दिशामा सरकार गम्भीर छ।’
निर्वाचन आयोगले वैशाख २२ भित्र स्थानीय निर्वाचन गरिसक्नुपर्ने प्रस्ताव गरिसकेको छ। गठबन्धनमा सहमति जुटेमा बिहीबार नै सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ पहिलो साता सकिँदैछ। त्यसअघि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
यसअघि निर्वाचन आयोगले एकैचरणमा गर्ने भए आगामी वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ तथा २२ गतेको मिति सिफारिस गरेको छ। तर, सरकारले निर्वाचनको मिति तोकेको छैन।
प्रमुख प्रतिपक्ष एमालेले भने स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने भन्दै आएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल लाइभसँगको कुराकानीमा निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए। उनले सरकार र सत्तागठबन्धन दल निर्वाचनबाट भाग्न खोजेको समेत आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।