काठमाडौं– प्रदेश २ ले नयाँ नाम र स्थायी राजधानी पाएको छ। प्रदेश सभामा सोमबार भएको मतदानबाट प्रदेशको नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुरधाम कायम गर्ने प्रस्ताव पारित भएको हो।
सोमबारको पहिलो बैठकमा स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमाथि मतदान भएको थियो। दलहरुबीचको साझा प्रस्तावका रुपमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग) प्रस्तावित गरिएको थियो। यसको प्रस्तावकहरु परमेश्वर साह, रवीन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरतप्रसाद साह हुन्। प्रदेश सभामा भने परमेश्वर साहले प्रस्ताव पेस गरेका थिए। समर्थकहरुमा चमेलीदेवी दास, सन्चमया मोक्तान, निराकुमारी साह, सावित्री देवी साह, जगतप्रसाद यादव, दिलिपकुमार साह, डिल्ली प्रसाद उप्रेती लगायत थिए।
यो प्रस्तावमाथि मतदान हुँदा ९९ प्रदेश सभा सदस्यले मतदान गरेका थिए। जसमध्ये ७८ जनाले पक्षमा मत दिएका थिए।
त्यस्तै, सोमबारकै दोस्रो बैठकमा प्रदेशको नाममाथि मतदान भएको थियो। पहिलो प्रस्तावको रुपमा ‘मधेश प्रदेश’माथि भएको मतदानमा सहभागी ९९ जनामध्ये ८० जनाले पक्षमा मत दिएका थिए।
‘मधेश’को प्रस्तावकमा शैलेन्द्रकुमार यादव र भरतप्रसाद साह थिए। सो प्रस्तावको समर्थकमा बबिता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगतप्रसाद यादव र दिलिपकुमार साह थिए। सोमबार प्रस्तावक मध्येका यादवले प्रदेश सभामा आफूहरुको प्रस्ताव पेस गरेका थिए।
राजधानीका लागि पनि जनकपुर र वीरगंजलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए। त्यस्तै, प्रदेशको नामाकरणका लागि विभिन्न ६ वटा प्रस्ताव गरिएका थिए। जसमा ५ वटा नाम प्रस्तावित थिए- मधेश, जानकी, मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र जनक प्रदेश।
फरक–फरक नाम प्रस्तावित भएपछि प्रदेश सभाले सहमति जुटाउन समिति गठन गरेको थियो। पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो।
समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए।
समितिको प्रस्ताव सहितको प्रतिवेदन आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो। समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर राजधानीका तीन वटा विकल्प र प्रदेशको नामका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो। उसले क्रमैसँग राखेका विकल्पमा मतदान गर्न सिफारिस गरेको थियो। तर, स्थायी राजधानी र नामका पहिलो प्रस्तावहरु नै दुई तिहाइ मतका साथ पारित भएका हुन्।
दलीय समर्थनको आधारमा हेर्दा जसपा, लोसपा र माओवादी केन्द्र ‘मधेश’, एमाले र नेकपा एकीकृत समाजवादी ‘जानकी’ र कांग्रेस ‘मिथिला भोजपुरा’को पक्षका थिए। उनीहरु जनकपुर राजधानीकै पक्षमा थिए। तर, बारा र पर्सा क्षेत्रका कतिपय सांसदहरु ‘मध्य मधेश’को पक्षमा उभिएका थिए। राजधानीको नाममा पनि कतिपय सांसदहरुले वीरगंज प्रस्तावित गरेका थिए।
समितिले प्रस्तावित गरेका राजधानीः
१. जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग)
२. वीरगंज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जीतपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म)
३. वीरगंज (वीरगंज महानगरपालिका भरि)
समितिले प्रस्तावित गरेका प्रदेशको नामः
१. मधेश प्रदेश
२. जानकी प्रदेश
३. मिथिला भोजपुरा प्रदेश
४. मध्य मधेश प्रदेश
५. जनक प्रदेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।