काठमाडौं– प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। दलहरुको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो। २०७४ सालयता जनकपुर नै अस्थायी राजधानीको रुपमा रहँदै आएको थियो।
प्रदेश सभामा हाल कायम रहेका १०४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए। जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो। दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो।
राजधानीका लागि पनि जनकपुर र वीरगंजलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए।
तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए।
समितिको प्रस्ताव आइतबार (माघ २ गते)को प्रदेश सभा बैठकमा पेस भएको थियो। समितिले गोप्य मतदानबाट टुंग्याउन भनेर प्रदेशको स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव तय गरेको थियो। जसअनुसार, जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग), वीरगंज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जीतपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) र वीरगंज (वीरगंज महानगरपालिका भरि) प्रस्तावित गर्ने तय भएको थियो।
पहिलो प्रस्तावको रुपमा जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भूभाग) मतदान भएको थियो।
यो प्रस्तावको प्रस्तावकहरु परमेश्वर साह, रवीन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरतप्रसाद साह हुन्। त्यस्तै, समर्थकहरुमा चमेलीदेवी दास, सन्चमया मोक्तान, निराकुमारी साह, सावित्री देवी साह, जगतप्रसाद यादव, दिलिपकुमार साह, डिल्ली प्रसाद उप्रेती, नागेन्द्र राय यादव, हसिना खातुन, महम्मद समिम, नरेशकुमार यादव, वीरेन्द्रप्रसाद सिंह, किशोर साह कमल र अनिताकुमारी यादव हुन्।
सोमबारको प्रदेश सभामा सबै प्रस्तावकहरुहरुको तर्फबाट परमेश्वर साहले प्रस्ताव पेस गरेपछि मतदान भएको थियो। सो प्रस्तावमा संसद्को दुई तिहाइ मत नआएमा दोस्रो प्रस्ताव र त्यसमा पनि दुई तिहाइ मत नआए तेस्रो प्रस्तावमा मतदान हुने समितिको सिफारिसमा उल्लेख थियो। तर अब ती प्रस्तावमा मतदान हुने छैन।
प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।