काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेकी छन्।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अहिलेसम्म नीतिगत लगायतका क्षेत्रमा गरिएका काम र आगामी कार्ययोजनाका बारेमा आफ्नो योजना सार्वजनिक गरेकी हुन्।
‘हामीले नीतिगत सुधारका कुराहरु विद्यमान शहरी नीतिलाई अनुकुल बनाउने र प्रदेश र स्थानीय तहसँग संवादको प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन्, ‘शहरी पूर्वाधारमा ऋण अनुदान लगानीका विषयमा शहरी विकास विधेयक अनुमति दिइएको छ।’
उनले धेरै जनअपेक्षा अर्मूत हुने भन्दै मूर्तरुप दिनका लागि चुस्तदुरुस्त हिसाबले मन्त्रालयले काम गरिरहेको बताइन्। ‘बागमती नदीको बहाव सफा गर्ने काम पनि गर्दैछौं। सार्वजनिक जमिनको दोहन गरिएको ठाउँलाई क्लियर गर्न निर्ममता पूर्वक अघि बढ्छौं,’ उनले भनिन्, ‘शहरी प्रदुषण र फोहोर मैलाको कुरा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ल्यान्डफिल्ड साइट निर्माण लगायतको कामलाई अघि बढाइएको छ।’
उनले मन्त्रालयले देशभर नै रहेका नगरपालिका लगायतका ठाउँमा त्यहाँको अवस्था लगायतको बारेमा अध्ययन गरेर फोहोर मैलाको व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।