काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
सोमबार बिहान बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। कोरोना संक्रमण भएपछि राजनीतिक भेटवार्ता स्थगित गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आजदेखि भेटघाट सुरु गरेका हुन्।
आइतबार कोरोना संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेको जानकारी दिए।
प्रधानमन्त्रीसँगको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको छ।
उनीहरूबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ।
‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मिति सिफारिस गरिसकेको छ। सरकारले यसबारे निर्णय गर्नुपर्ने छ,’ देउवा निकट एक नेताले भने, ‘अब संयन्त्रको बैठकमा यस विषयमा छलफल भएपछि निर्णय होला।’
सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएपछि सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।