काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएको छ।
राजस्व नतिरी भाग्न लागेका उनलाई गएराति १० बजे विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ। उनले ओसिपी एसियाको लगानीमा काठमाडौंको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन्।
बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो।
मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन्।एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढंगले सञ्चालन गरेको आरोप छ।
सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।