फाइल तस्बिर
काठमाडौं- ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ।
परराष्ट्रमन्त्री नारायण खड्काले खाना, कपडा र औषधि उपचारको संकट बेहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार (भोलि) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए।
शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारको तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे। मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबीसमेत गरेका छन्।
उनका अनुसार भोलि नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन्।
'यो एउटा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण मिसन हो। हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो, भोकमरी, खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधि उपचारको संकटमा हुनुहुन्छ। उहाँहरुको चीत्कार दिनैपिच्छे हामीहरुले अन्तर्राष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं। यस सन्दर्भमा हामी यो दक्षिण एसियाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ परिवारको एउटा सदस्य भएको नाताले हामीले नैतिक जिम्मेवारी पनि ठानेर मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं,' परराष्ट्रमन्त्री खड्काले भने, 'भोलि यो मानवीय सहयोग लिएर यहाँबाट हवाईजहाज जान्छ।'
उनले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न सक्षम छ भन्ने सन्देश जाने बताए। उनले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको दाबी गरे।
'हामी मनका धनी छौं। र, विश्वका कुनै पनि भेगका जनता धेरै ठूलो समस्यामा पर्नुभयो भने उहाँहरुलाई सहयोग गर्नुपर्ने दायित्वको एउटा नयाँ सुरुआत हो यो,’ मन्त्री खड्काले भने।
संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समुदायलाई अपिल गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।