काठमाडौं- नेपाल मुस्लिम संघले निर्वाचन आयोगले आगामी वैशाखमा प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा पुनर्विचार गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन आगामी आगामी वैशाख १४ र २० गते प्रस्ताव गरेकामा त्यस समयमा मुस्लिम समुदायको रमजान व्रत तथा इद पर्व पर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न संघले आग्रह गरेको हो।
संघका उपसभापति अताबुल मन्सुरीले विज्ञप्ति प्रकाशन गरी आगामी चैतको १९ गतेदेखि वैशाखको २० गतेसम्म एक महिनासम्म मुस्लिम समुदायको रोजा उपासना र इद पर्व परेकाले प्रस्तावित निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि मुस्लिम समुदायलाई गाह्रो पर्ने बताएका छन्।
त्यसैले प्रस्तावित उक्त निर्वाचनको मितिमा पुनर्विचार गर्न संघले निर्वाचन आयोग र नेपाल सरकारसँग आग्रह गरेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम संघका निवर्तमान सभापति अब्दुल सतारले नेपालको करिब पाँच प्रतिशत रहेको मुस्लिम समुदायका नागरिकलाई उक्त प्रस्तावित मितिको निर्वाचनमा उम्मेदवार बन्न तथा मतदानकै लागि पनि गाह्रो पर्ने भन्दै सो मितिमा पुनर्विचार गर्न आग्रह गरे।
उनले भने, 'मतदान गर्नै गाह्रो हुने त होइन तर पनि महिना दिनसम्म उपासनाको पर्व परेकाले उम्मेदवार बन्न या निर्वाचन प्रचारकै लागि पनि समस्या हुने भएकाले यस व्यावहारिकतालाई मध्यनजर गरी यसमा पुनर्विचार होस् भनी म निर्वाचन आयोग र नेपाल सरकारलाई आग्रह गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।