काठमाडौं– प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो।
११६ रनको विजयी लक्ष्य पाएको आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा गर्यो। आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए। विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए।
सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए। नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनायो। सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे। वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए। बलिङतर्फ आर्मीका विक्रम सोब एक्लैले ६ विकेट लिए।
चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे। यस्तै, कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक–एक विकेट लिए ।
जारी प्रधानमन्त्री कपमा आर्मीको यो दोस्रो जित हो। चार खेलमध्ये आर्मीले दुईमा जित, एक खेलामा हार व्यहोरेको छ। एक खेलमा अंक बाँडेको छ।
आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो। तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश १ सँग एक–एक अंक बाँडेको थियो।
सुदूरपश्चिम पुलिससँगको पहिलो खेलमा दुई रनले पराजित भएको थियो। कर्णाली प्रदेशलाई भने ४७ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।