फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको छ।
एपीएफले १८.४ ओभरमा सबै विकट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो।९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ९० रन मात्रै जोड्न सक्यो।
गण्डकीका लागि कप्तान विपिन खत्रीले ३६ रन बनाए। उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यता, विकेटकिपर–ब्याटर बिधान श्रेष्ठले २९ रनको योगदान गरे भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गण्डकीलाई ९० रनमै रोक्न एपीएफका कमलसिंह ऐरीले सर्वाधिक ३ तथा किशोर महतोले २ विकेट लिए। यस्तै, अविनाश बोहराले १ विकेट लिएका थिए।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले १८.४ ओभरमा सबै विकट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो।
उसका लागि प्रदीप ऐरीले १७, आशिफ शेखले १६, दिपक बोहराले १५ बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्नसकेनन्।
गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ तथा विशाल पौडेलले २ विकेट लिएका थिए। यस्तै, चन्द्र पौडेल, कृष्ण पौडेल र सुवाष भण्डारीले १/१ विकेट लिएका थिए।
प्रतियोगितामा लगातार दोस्रो जित निकालेसँगै एपीएफ सेमिफाइनल नजिक पुगेको छ। समूह ‘बी’मा रहेको एपीएफको ६ अंक छ।
दोस्रो स्थानको बागमती, तेस्रो स्थानको लुम्बिनीको दुई खेलबाट २ अंक छ। यस्तै, तीन खेलमा २ अंक जोडेको प्रदेश २ चौथो र अंकविहीन गण्डकी पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।