काठमाडौं- कप्तान तथा स्पिनर शेर मल्लको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
सुदूरपश्चिम प्रदेशले बिहीबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो। जितसँगै सुदूरपश्चिमले सेमिफाइनल सम्भावना कामयै राखेको छ।
१ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमा १ सय ६ रनमा अलआउट भयो।
कर्णालीका कप्तान रविन्द्रजंग शाहीले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ४३ बलमा ४ चौका प्रहार गरे।
यता, अर्जुन घर्तीले ३० रन बनाउँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
सुदूरपश्चिमका शेर मल्लले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। तीव्र गतिका बलर हेमन्त धामीले २, विकाश आग्री, आदित्य महता र गजेन्द्र बोहराले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो।
सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान दिए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
यता, वसन्त कार्कीले २८, दीपक बोहराले २४ र खडक बोहराले २२, हेमन्त धामीले १० रनमा बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णाली प्रदेशका प्रकाश जैशीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। रविन्द्रजंग शाही र दीवान पुनले २–२ विकेट लिए।
सुदूरपश्चिम पहिलो खेलमा विभागीय टोली नेपाल पुलिससँग २ रनले पराजित भएको थियो। सुदूरपश्चिमले शुक्रबार मुलपानीमा आर्मीसँग खेल्नेछ। सेमिफाइनल खेल्ने सम्भावना कायमै राख्न सुदूरपश्चिमलाई उक्त खेल जित्नु पर्ने दबाब हुनेछ।
यता, कर्णाली पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो। दोस्रो खेलमा कर्णालीले प्रदेश १ लाई ३१ रनले हराएको हराएको थियो। कर्णालीले टियुमा शुक्रबार पुलिसँग खेल्नेछ।
समूह ए मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्षस्थनमा छ । आर्मी ३ अंकका साथ दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ अंकका साथ चौथो र प्रदेश एक २ खेलमा १ अंकका साथ पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।