काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले चुक्ता पुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको आज सम्पन्न १० औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।
कम्पनीको चुक्ता पुँजी हाल ४१.१ करोड रुपैयाँ रहेको छ। उक्त पुँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ५६.७६ करोड रुपैयाँ पुर्याउने निर्णय साधारणसभाले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, अधिकृत पुँजी एक अर्ब रुपैयाँ पुर्याउने निर्णयसमेत साधारणसभाले गरेको छ।
बोनस सेयरको कर प्रयोजनका लागि दुई प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले पुँजी वृद्धिमार्फत् भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने तथा नेसनल पेमेन्ट स्वीचअन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न उक्त पुँजी प्रयोग गर्ने जनाएको छ।
कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोबार शुल्क अत्यधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामाउल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ। कोरोना महामारीकालमा छुट दिएबाबजुद कम्पनीले आव २०७७/७८ मा खुद नाफा ३८ प्रतिशतले बढाएको जानकारी दिएको छ। त्यसैगरी कम्पनीले कूल पुँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले बढी हो।
साधारणसभाले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ। विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ सदस्य निर्वाचित भएका हुन्।
नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल छ जना प्रतिनिधि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।