काठमाडौं- विभागीय महिला टोली नेपाल पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा हराएसँगै टाइगर कपमा जित हात पारेको छ।
पोखरामा जारी प्रतियोगितामा पहिलो खेलमा बुधबार साविक विजेता पुलिसले आयोजकलाई २५-२०, २५-१७, २५-२२ को सेटमा पराजित गरेको हो।
यसअघि पुलिस पहिलो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग २४-२६, १८-२५, २५-२१, २३-२५ को सेटमा पराजित भएको थियो।
बुधबार नै सम्पन्न महिलातर्फको दोस्रो खेलमा एपीएफले न्यू डाइमन्डविरुद्ध ३-२ सेटको रोमाञ्चक जित हात पारेको छ। एपीएफले पहिलो सेट २१-२५ गुमाए पनि दोस्रो सेटमा २५-२१ को नतिजा निकाल्दै खेलमा पुनरागमन गरेको थियो।
तेस्रो सेटमा न्यू डाइमन्डले एपीएफलाई २५-१० को फराकिलो अंकमा पराजित गर्यो। तर, एपीएफले चौंथो सेट २५-१२ र पाँचौं सेट १५-८ को नतिजा निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै तीन खेलमा पाँच अंक जोडेर एपीएफ अंक तालिकाको दोस्रो स्थानमा छ। न्यू डाइमन्ड समान तीन खेलबाट सात अंकसहित शीर्ष स्थानमा छ।
यस्तै, विभागीय टोली त्रिभुवन आर्मी क्लब र पुलिसले समान दुई खेलबाट तीन/ तीन अंक बनाएको छ। जितविहीन रहेको आयोजक टोली अंकविहीन छ। उसले दुई खेल खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।