खिमबहादुर शाही।
जाजरकोट– नेकपा एमाले जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही निर्वाचित भएका छन्। सोमबार बेलुका सार्वजनिक अन्तिम मतपरिणाम अनुसार शाही २१७ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिष्पर्धी निर्वतमान अध्यक्ष करबिर शाहीले २१० मत प्राप्त गरे।
अघिल्लो जिल्ला अधिवेशनमा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट अध्यक्ष निर्वाचित भएका करबिर शाही एमाले–माओवादी केन्द्र ब्युँतिएपछि एमालेमै रहेका थिए। तर, त्यतिबेला पनि ओलीपक्षले अर्कै कमिटी बनाएको थियो। मूलत: १० बुँदे सहमतिपछि शाहीलाई अध्यक्ष स्वीकारिएको थियो।
उनी नेकपाकालमा सचिव थिए। अध्यक्ष पूर्वमाओवादी केन्द्रलाई दिइएको थियो। अध्यक्षमा पराजित शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन्। उनी नेतृत्वको कमिटीका सचिव चन्द्रप्रकाश घर्ती (सीपी) चितवनमा भएको एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनाइएका थिए। आफ्नो कमिटीका सचिव केन्द्रीय सदस्य बनाइँदा केन्द्रमा नपरेका शाहीलाई सर्वसम्मत जिल्ला अध्यक्ष बनाउने कसरत गरिएको थियो। तर, सर्वसम्मतको प्रयास सफल नभएपछि मतदान गरिएको थियो।
अध्यक्षमा निर्वाचित शाही पछिल्लो समय पार्टीका कुनै जिम्मेवारीमा थिएनन्। एमाले स्थापनाकालमा पार्टीमा लागेका उनी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बसेका थिए। उनी गैरसरकारी संस्था महासंघको कर्णाली प्रदेश अध्यक्ष पनि भएका थिए। हाल उनी महासंघको केन्द्रीय सदस्य र कर्णाली प्रदेश इन्चार्ज थिए।
अध्यक्षमा निर्वाचित शाहीलाई एमाले पोलिटब्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यहरू डम्बरबहादुर सिंह र चन्द्रप्रकाश घर्तीको साथ थियो भने पराजित शाहीलाई केन्द्रीय सदस्य निरज आचार्यको साथ थियो। आचार्य १० बुँदे पक्षधर हुन्।
यस्तै, एमाले जाजरकोटको उपाध्यक्षमा खिमबहादुर समूहकै गोपालबहादुर बटाला विजयी भएका छन्। उनले २२५ मत ल्याउँदा निकटम प्रतिष्पर्धी नवराज सिंहले १७७ मत ल्याए।
यस्तै, सचिवमा खिमबहादुर समूहकै वीरबहादुर गिरी २१५ मत ल्याएर विजयी भए। उनका प्रतिष्पर्धी नरबहादुर खत्रीले १८६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
उपसचिवमा गोपालबहादुर नेपाली र नरबहादुर बस्नेत (एनबी) निर्वाचित भए। उनीहरूले क्रमश: २५८ र २४७ मत ल्याए। नेपाली खिमबहादुर र बस्नेत करबिर समूहबाट निर्वाचन लडेका थिए। उपसचिवमा चुनाव लडेका रामबहादुर शाहीले १५४ र जयराम न्यौपानेले १०४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।