काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको हाल कायम भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएको बताएका छन्। यद्यपि शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने थापाको भनाइ छ।
३००यौं जन्मजयन्तीको अवसरमा मंगलबार शाहलाई सम्झिँदै थापाले सामाजिक सञ्जालमा भनेका छन्, 'पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन। किनकि सत्य यही हो, आज हामीसंग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।'
कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरणमध्ये भौगोलिक एकीकरण नै पहिलो हुने आउने उल्लेख गर्दै थापाले पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता रहेको बताएका छन्।
राष्ट्र निर्माणका सन्दर्भमा पृथ्वीनारायणको भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक नभएको थापाको भनाइ छ। 'न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ। हामीले कहिलेकाहीँ तत्कालीक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं, त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले,त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ,' थापाले भनेका छन्।
थापाले पृथ्वीनारायण शाहलाई सम्मानपुर्वक सम्झदै अहिलेको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गर्न आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।