काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
सोमबार एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पछिल्ला केही दिनयता देशभर कोरोना भाइरस संक्रमणदर बढेको स्मरण गराउँदै सबैलाई सचेत हुन अनुरोध गरेका हुन्।
उनले पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न चार बुँदे निर्देशन जारी गरेका छन्।
पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न उनले अपिल गरेका छन्।
‘थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउँडो छोपिने गरी मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ’, नेपालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमणदर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागी हुने व्यवस्था गर्न/गराउन निर्देशन गरिन्छ। ’
त्यस्तै, संक्रमणदर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न/गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशनसमेत दिएका छन्।
‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ,’ उनले अपीलमा भनेका छन्।
अपीलमा एक पटक पनि कोरानाविरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोधसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।