काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले सरकारी सम्पति ओगट्ने रुचि बतास समूहका लागि महङ्गो पर्ने चेतावनी दिएका छन्।
नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानविन गर्न गठित सरकारी समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री आलेले बतास समूहलाई दिएका अरु ठेक्काका विषयमा पनि छानबिन हुने बताए।
मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालसँगै पशुपति धर्मशाला लगायतमा बतास समूहलाई दिइएको ठेक्का प्रकरणबारे छानविन हुने र दोषीलाई कारबाही गरिने बताए। उनले यो सम्झौता अघि नबढ्ने उल्लेख गर्दै बतासको सरकारी सम्पत्ति ओगट्ने रुचि महंगो पर्ने बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको समितिले बतास समूहलाई नारायणहिटीमा क्यान्टिन सञ्चालन गर्न दिने निर्णय गलत भएको निष्कर्श निकालेको छ।
समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफ्टेरिया सञ्चालनको ठेक्का प्रक्रियामा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले समेत जिम्मेवारी पूरा नगरेको ठहर गरेको छ। समितिले दोषीलाई कारबाही प्रक्रिया अघि बढाउन समेत सिफारिस गरेको छ।
प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अब संग्रहालयबारे गुरुयोजना निर्माण गरेर मात्र निर्णय गरिने र गुरुयोजनाविपरित कुनै संरचना निर्माण नगरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।