काठमाडौं– झारफुकको नाममा काठमाडौंमै ‘माता’बाट बालिकाको हत्या भएको आरोप लागेको छ। हत्याको आरोपमा प्रहरीले आफूलाई माता बताउने एक महिलालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने १४ वर्षीया बालिका रोशनी श्रेष्ठको झारफुकको नाममा हत्या आरोपमा आफूलाई माता बताउने उर्मिला तामाङ शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाठौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीका अनुसार पक्राउ पर्ने महिला रानीवन पानीट्यांकीमा झारफुक गरेर बस्दै आएकी थिइन्।
झारफुकको नाममा ती महिलाले बालिकाको शरीरमा त्रिशुलले रोपेको आरोप लागेको छ। सोही कारण बालिकाको मृत्यु भएको हुनसक्ने भन्दै उनलाई महानगरीय प्रहरी वृत्त स्यम्भूले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
माता बताउने महिलालाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ। टाउको दुख्ने लगायत विभिन्न समस्या भएपछि बालिकालाई उनकी आमा राधिकाले शाहीकोमा पुर्याएकी थिइन्।
ती बालिकालाई करिब तीन सातादेखि 'माता'को टहरोमा लगेर राखिएको थियो। तीन सातासम्म उनकी आमाले बालिकालाई किन त्यहाँ राखिन् भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।
बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।