काठमाडौं– ज्याक लिच र स्टुअर्ट ब्रोडले सम्हालिएको प्रदर्शन गरेपछि इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट सिरिजको चौंथो खेल बराबरीमा टुङ्याएको छ।
जितका लागि इङ्ल्यान्डले ३ सय ८८ रनको लक्ष्य पाएको थियो। पाँचौ दिनको खेल समाप्तीमा इङ्ल्यान्ड २७०–९ को स्थितिमा रहेपछि चौंथो खेल बराबरीमा सकिएको हो।
अस्ट्रेलियाले सुरुआती ३ खेल जित्दै एसेस टेस्ट सिरिज ३–० ले आफ्नो पक्षमा पारिसकेको छ।
दोस्रो इनिङ्समा इङ्ल्यान्डका ओपनर ज्याक क्रले ७७ रनको योगदान दिए। उनले सय बलको सामना गर्दै १३ चौका प्रहार गरेका थिए।
यता, बेन स्टोक्सले ६० रनको योगदान दिए। स्टोक्सले एक सय २३ बलमा १० चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, जोनी बेयरस्टोले ४१ रन जोडे। बेयरस्टो पबेलियन फर्किएपछि ब्याटिङका लागि आएका ज्याक लिच र स्टुअर्ट ब्रोडले सम्हालिएको प्रदर्शन गरेपछि इङ्ल्यान्डले हारको संकट टारेको थियो।
ज्याकले २६ रन बनाए भने स्टुअर्टले ८ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा रहेका जेम्श एन्डरसन र स्टुअर्टले १२ बल खेल्दै टोलीलाई हराबाट जोगाएका थिए।
अस्ट्रेलियाका स्कट बोल्यान्डले ३, प्याट कमिङस् र नाथन लियोनले समान २ तथा स्टिभ स्थिम र क्यामरुन ग्रिनले समान एक विकेट लिए।
यसअघि ४१६–८ मा अस्ट्रेलियाले पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो। इङ्ल्यान्ड भने पहिलो इनिङ्समा २ सय ९४ रनमा सीमित भएको थियो। उक्त समय इङ्ल्यान्ड १ सय २२ रनले पछि परेको थियो।
अस्ट्रेलियाले २६५–६ मा दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो। इङ्ल्यान्डले जितका लागि ३ सय ८८ रनको लक्ष्य प्राप्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।