काठमाडौं– मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन्। काठमाडौंमा विशेष समारोहबीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको जनाइएको छ।
अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकलाई धन्यवाद दिएकी छिन्। अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सीईओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालामा जाने बताएकी छिन्।
खुञ्जेली नेपालको ‘क’ वर्गको वणिज्य बैंकको प्रथम महिला सीईओ हुन्। उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो।
सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।