काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन्।
मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी कार्य प्रारम्भ गर्न पनि आयोगलाई सचेत गराइन्। राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आयोगको कामलाई सफल बनाउन आफ्नो मन्त्रालय र मातहतका सबै निकायले सम्पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
मन्त्री श्रेष्ठले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको मात्रै नभएर मोही, विर्तालगायतको समस्या समाधान गर्न पनि सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्।
उनले कमलरीलगायतका मुक्त कमैयाहरुको व्यवस्थापन अझै हुन नसकेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले ५ सदस्यीय अध्ययन टोली समेत बनाएको जानकारी दिइन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरुको समस्या समाधान हुनेगरी आयोगले आफ्नो कामलाई अघि बढाएको बताए। उनले वर्तमान सरकारले भूमिहीनहरुको समस्या समाधानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी पनि गरे।
अध्यक्ष निरौलाले भूमिहीनहरुको समस्या समाधानका लागि आयोगले स्थानीय सरकारसँग मिलेर काम हुने गरी कार्ययोजना तय गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।