सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-६ बनैनिया बरदाही जाने भित्री सडकखण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका-४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका-८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
उनीहरूका साथबाट ४०८ क्याप्सुल एपीएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डीसी र चार ट्याब्लेट नाइट्राभेट-१० बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
पक्राउ परेका आरोपित लागुऔषधसहित भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेला पक्राउ परेका हुन्। बनैनिया बरदाही जाने भित्री सडकखण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले जाँच गर्दा साइकल चालक यादवले बोकेको कालो रङको झोलाभित्र अवैध लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले साइकल पछाडि सवार महतोसमेतलाई नियन्त्रणमा लिएको छ। पक्राउ दुवै जनालाई लागुऔषध शीर्षकमा उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ काफ्लेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।