काठमाडौं– एनआईसी एसिया बैंकको नयाँ बानेश्वर शाखाबाट भएको रकम लुटपाटमा बैंकका कर्मचारीकै संलग्नता रहेको खुलेको छ। रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता रहेको खुलेपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा एनआईसी एसिया बैंकको नयाँ बानेश्वरस्थित शाखाका कर्मचारी प्रदीप खत्री, अनिश खड्का, विमल तामाङ र शक्ति पौडेल छन्। उनीहरुले पुस १८ गते नयाँ बानेश्वरस्थित शाखामा जम्मा गर्न लागिएको १६ लाख रुपैयाँ लुटिएको नाटक गरेका थिए।
पक्राउ परेका खत्री बैंकका ‘होम सर्भिस’ कर्मचारी हुन्। ठूलो रकम जम्मा गर्ने संस्था तथा व्यक्तिले खबर गरेको अवस्थामा उनी सम्बन्धित ठाउँमा पुगेर रकम सिरिभ गर्ने गर्थे। पुस १८ गते उनले १० नम्बर वडा कार्यालय र मेटलाइफ इन्स्योरेन्समा गएर रकम बुझेका थिए। उक्त रकम लिएर आउँदै गर्दा नयाँ बानेश्वर पुगेपछि खत्रीले मोटरसाइकलको पेट्रोल सकिएको नाटक गरेका थिए। खत्रीको मोटरसाइकल पछाडि बैंककै कर्मचारी आरुसी भण्डारी पनि थिइन्। त्यति नै बेला हाल पक्राउ परेका तीन जना आएर रकम लिएर गएका थिए। यो सबै खत्रीकै पूर्वयोजनाअनुसार भएको अनुसन्धानबाट खुलेको छ।
कर्मचारी खत्री र विमल तामाङ पूर्वचिनजानकै व्यक्ति भएको पाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार लुटपाटमा संलग्न विमल एउटा स्कुटर सोरुममा चालकको रुपमा कार्यरत छन्।
पहिलेदेखि नै चिनजान रहेका उनीहरुले लुटपाट गर्ने योजना बनाएका थिए। रकम लुट्नेदेखि व्यवस्थापन गर्ने सम्बन्धमा उनीहरुले पहिले नै योजना बनाएका थिए।
जसअनुसार रकम लुटपाट भएको झण्डै ३ घण्टा पछि मात्रै बैंकका कर्मचारी खत्रीले प्रहरीलाई खबर गरेका थिए। रकम आइतबार दिउँसो साढे ३ बजेतिर लुटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।