काठमाडौं- संकटा क्लब र सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र सातदोबाटो १–१ गोलको बराबरी रोकिएका हुन्।
दुवै टोलीले पहिलो हाफमा गरेको गोलले नै अंक बाँड्न सहयोग गर्यो। सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जय गुरुङले बराबरी गोल फर्काएका थिए।
खेलको चौथो मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार संकटाका गोलक्षक राजा बावु थापाले पञ्च गर्दै बचाए ।
११औं मिनेटमा फोडे फोफानाको प्रहार अभिषेक बरालले मुस्किलले बचाए।
२३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए। निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले क्लियर गरेको बल सुशिललाई लाग्दै गोलमा परिणत भएको थियो।
३०औं मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार क्रस बारमा लाग्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो।
३२औं मिनेटमा जयले संकटालाई खेलमा फर्कायो। दिपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहारमा गोलरक्षक अभिषेकले बचाउने मौका पाएनन्।
दोस्रो हाफमा दुवै टोलीले बल होल्डिङ गरेर खेलेपनि गोलको अवसर सिर्जना भने गर्न सकेनन्।
५२औं मिनेटमा दीपक राज सिंहको वान भर्सेस वानको प्रहार बाहिरियो। त्यसपछि कुनै लोभलाग्दो प्रहार हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकियो।
बराबरीपछि अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ। सातदोबाटो ८ खेलबाट ९ अंक जोडर आठौं स्थानमा यथावत् रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।