काठमाडौं- नेकपा (माओवादी केन्द्र) को आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।पर्याप्त गृहकार्य नपुगेका कारण बैठक स्थगित गरिएको एक केन्द्रीय सदस्यले बताए।
यसअघि महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकबाट अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको थिएन। शनिबारको बैठकमा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्ने तय भएको थियो।
गत साता आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि केन्द्रीय समिति बैठक राखेको थियो । केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराएका छन्।
यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो।
यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।
विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।