अग्लाअग्ला पहाडहरूलाई हेरेर म सोच्थें– यी पहाडहरूको टाकुरामा पुग्न सके आकाशलाई सजिलै छुन सकिन्थ्यो होला। यसप्रकारको सोचाइले मलाई रोमान्चित बनाउँथ्यो। पहाडले भन्दा बढी मलाई आकर्षित गथ्र्यो आकाशले। आकाश मलाई उचाइको सबैभन्दा अग्लो मानक लाग्थ्यो।
कयौं पटक मैले मेरी आमासँग पहाडको टाकुरामा पुगेपछि आकाशलाई छुन सकिन्छ कि सकिन्न भनी गरेका प्रश्नहरू अहले पनि मेरो स्मृतिमा सुरक्षित छन्। आमाको उत्तरले म आश्वस्त हुन्थें पनि, हुन्नथें पनि। एक विचित्रको संशय मभित्र बाँचिरहन्थ्यो।
आमा मेरा निम्ति सबैथोक हुनुहुन्थ्यो। उहाँले सबै कुरा जान्नुहुन्छ भन्ने लाग्थ्यो। तर पनि, उहाँले दिने कैयौं उत्तरहरूबाट म सन्तुष्ट हुन्नथें। झन् पछि झन् जिज्ञासा बढ्दै जान्थ्यो। आमा भन्नुहुन्थ्यो, ‘पहाडको टाकुरामा पुगेपछि आकाश छुन सकिन्छ। तिमी त्यहाँ एक दिन पुग्ने छौ र आकाशलाई छुने छौ।’
आमाका कुराले म चमत्कृत हुन्थें, तर अविश्वास पनि जीवित नै रहन्थ्यो। जे होस, आकाशप्रति मेरो आकर्षणको आरम्भ बाल्यकालमै भएको थियो। यो आकर्षण आज पनि छँदैछ। आकाशले मलाई अहिले पनि लोभ्याउँछ, चमत्कृत गर्छ र मभित्र असंख्य प्रश्नहरू जन्मन्छन्। प्रश्नहरूको उत्तरका निम्ति घोरिन्छु, पुस्तकका पानाहरूमा पोखिन्छु र सम्वादमा सक्रिय रहन्छु।
दर्शनप्रतिको मेरो रुचि निर्माणमा आकाशको महत्वपूर्ण भूमिका छ। आकाशले नै मलाई दर्शनतिर डोर्यायो। दर्शनमा नपसी आकाशलाई बुझ्न सकिन्न जस्तो लाग्न थाल्यो। विभिन्न कुराले जीवनमा उत्प्रेरकको भूमिका निर्वाह गर्छन्। मानिस उत्प्रेरित हुन्छ र अघिल्तिर प्रस्थान गर्न कोसिस गर्छ। आकाश उत्प्रेरक रहेको छ मेरा निम्ति।
दर्शनप्रति मेरो रुचिको निर्माण यस विषयको पण्डित बन्ने रहरबाट भएको थिएन। जीवन र जगतलाई बुझ्ने स्वाभाविक चाहनाहरूको परिणाम थियो यो। आकाशले यसमा उत्तोलकको काम गर्यो। आकाश विराट शून्यभन्दा केही होइन, तर बालमनले यसलाई शून्य ठान्दिनँ। हामी आकाशमै करोडौं ताराहरू चम्किरहेको देख्छौं, जून मुस्कुराइरहेको र सूर्य आफ्नै लयमा हिँडिरहेको पाउँछौं। आकाशमा कावा खाँदै उडिरहेका पंक्षीहरूले हामीलाई आश्चर्यचकित पार्छन्। हाम्रो मनमा आकाशको एक अनौठो र रहस्यमय विम्ब बन्न शुरु गर्छ। बालमनमा पर्ने यसको प्रभाव त अझ विलक्षण हुन्छ।
आकाशप्रतिको आकर्षणकै कारण बाल्यकालमा मैले सपनामा आकाशलाई पटक पटक देख्थें। पंक्षी झै आकाशमा उडिरहेको हुन्थें। मैले कयौं पटक सपनामा चन्द्रमालाई छोएको थिएँ, ताराहरूसँग खेलेको थिएँ र सूर्यको नजिक पुगेर फर्किएको थिएँ। ब्यूँझिएपछि आफैँलाई अनौठो लाग्थ्यो। आमालाई बेलिविस्तार लगाउँथें र प्रश्नहरू गर्थें। आमाबाट खास उत्तर आउँदैनथ्यो। कहिलेकाहीं भन्नुहुन्थ्यो, ‘तिमी ठूलो हुँदैछौ, यस्तो बेला आकाशमा उडेको सपना देखिन्छ।’
म ‘हो र!’ भन्दै चुप लाग्थें।
चन्द्रमालाई किन छोइन्छ र ताराहरूसँग किन खेलिन्छको उत्तर पाउँदिनथें। बाल्यकालमा आकाशले लगाएको मोहनीको परिणाम थियो यो। मोहोनी लाग्यो भने यस्तै हुन्छ।
मनोविज्ञानको भाषामा भनुँ भने यो मेरो मनको एकखास दशा थियो। यस्तो दशा कसैप्रतिको आकर्षणबाट निर्माण हुन्छ। यस आकर्षणको मूलमा हाम्रो मन, हाम्रो संवेदनात्मक जगत रहन्छ। आकाशलाई लिएर जुन रहस्यात्मक भावनाको विकास ममा भएको थियो, त्यो भने समयक्रममा मबाट क्रमशः हराउँदै गयो। तर, पूरै शून्यमा भने झरेन। आज पनि मलाई बेलाबखत यस्तो अनभूति हुन्छ।
विज्ञानले आकाशबारे भनेको कुरासँग मेरो विमति छैन। म पनि त्यही भन्छु। तर, जब म आकाशलाई नियाल्छु, यसको अनन्त शून्यबारे विचार गर्न थाल्छु– मलाई एक भिन्नै प्रकारको अनुभूति हुन्छ।
मलाई रहस्यहरू सबै एकैपटक र सजिलै आनावृत हुन्छन् भन्ने लाग्दैन। यो ब्रम्हाण्ड, यो पृथ्वी रहस्यहरूले भरिएको छ। जीवनका कयौं गाँठाहरू नखोली जीवन सकिन्छ। रहस्यका असंख्य परतहरू विभिन्न कालखण्डमा आनावृत्त हुँदै आएका छन्, तर पनि रहस्यहरू सबै आनावृत भएका छैनन्। रहस्यका ढोकाहरू जति खुल्दै जान्छन्, त्यत्तिकै खोल्नुपर्ने ढोकाहरू थपिदै पनि जान्छन्। इतिहासले यही सत्यलाई पुष्टि गर्छ। भोलि हुने पनि यही हो।
रहस्य थाहा नपाउनुको, नजान्नुको अर्काे नाम हो। थाहा नपाउँदासम्म सामान्य कुरा पनि रहस्यपूर्ण लाग्छन् हामीलाई। जब हाम्रो ज्ञान एउटा सीमामा गएर रोकिन्छ, रहस्यको निर्माण पनि हुन शुरु गर्छ। रहस्य ज्ञानको सीमाबाट जन्मिएको अनुभूति र गरिएको बोध हो। हिजो रहस्यमय लागेका कयौं कुरा आज रहस्यमय लाग्दैनन्। तिनबाट रहस्यका पर्दाहरू उघ्रिएका छन्। हाम्रो ज्ञानले तिनलाई छिचोलेको छ। तर, आज पनि हाम्रो बोधभन्दा परका विषय निकै छन्। यो थाहा पाउनु र नपाउनुको पछिसम्मै चलिरहने श्रृंखला हो। थाहा पाउनुपर्ने विषयहरूको अन्त्य हुँदैन। एकपछि अर्काे विषयहरू आइरहन्छन् र तीबाट रहस्यको पर्दा उघार्ने काम पनि चलिरहन्छ।
जीवन र जगतलाई पूर्णतः रहस्यमय ठान्ने र जान्न सकिन्न भन्ने चिन्तन पनि छ। रहस्यवाद भन्छौं हामी यसलाई। यो दर्शनको एक यस्तो धारा हो, जसले जीवन र जगतलाई पूरै अज्ञेय बनाइदिन्छ। मेरा विचार र अनुभूतिको यससँग कुनै सम्बन्ध छैन। मेरा निम्ति रहस्य ज्ञानको सीमाबाट जन्मिएको अवस्थाभन्दा अरु केही होइन। रहस्यवाद यसो भन्दैन। उसलाई जीवन र जगत एक पहेली लाग्छ। रहस्यवादीहरूका चिन्तन र अनुभूतिले यी दुवैलाई झन्झन् रहस्यपूर्ण बनाउँदै लैजान्छन्। यसमै उनीहरू रमाउँछन् र सौन्दर्यानुभूति गर्छन्।
रहस्य र रहस्यवाद एउटै होइनन्। रहस्यवाद रहस्यमै हराउँछ, हराउनुमा मजा मान्छ। तर, रहस्य उद्घाटित हुँदैजान्छ। रहस्य मेरा निम्ति रहस्यवादीहरूको जस्तो कहिलै पक्रन नसकिने, जान्न नसकिने विषय होइन। रहस्यमा म पनि आनन्दको अनुभव गर्छु। तर, यो आनन्द जोडिएको छ आनावृत नभइरहेको अवस्थासँग, त्यसलाई लिएर गरिने कल्पनासँग र त्यसले उत्पन्न गर्ने एक विशेष प्रकारको मनोदशासँग।
रहस्यवादीहरूका निम्ति रहस्य उच्च आध्यात्मिक आश्रयस्थल हो। म रहस्यलाई यस रूपमा हेर्दिन। रहस्य मेरा निम्ति उत्प्रेरक हो थप जान्नका निम्ति, रहस्यलाई आनावृत गर्नका निम्ति। यसबाट प्राप्त हुने आनन्द यही प्रक्रियाबाट प्राप्त हुने आनन्द हो। यसैले म रहस्यलाई रुचाउँछु र त्यसबाट चमत्कृत पनि हुन्छु। रहस्य प्रकृतिले, जीवनले अनेकन श्रृंखलामा बुनिरहनुपर्छ भन्ने लाग्दछ। किनकि मनुष्यको सक्रियता रहस्यको अनावरणसँग पनि गाँसिएको छ। यो रहेन भने के होला? यस प्रश्नले मलाई भयभीत बनाउँछ।
आकाश शून्य हो। तर पनि यसले उत्प्रेरणा दिन्छ, एक होइन अनेकन स्तरबाट। थाकेको बेला म आकाश हेर्छु, यसले मलाई मानसिक विश्राम दिन्छ। यसको अनन्तता मेरो चिन्तनको उत्प्रेरक बन्छ। म शून्यको, अस्तित्वहीनताको विम्बको रुपमा मात्र पनि आकाशलाई हेर्न रुचाउदिनँ।
विज्ञानले व्याख्या गर्ने आकाशबारे मेरो कुनै विमति छैन, तर म अलि भिन्नरूपमा आकाशलाई हेर्न रुचाउँछु। आकाश छ र त इन्द्रेणी लाग्छ, आकाश छ र त पंक्षीहरू कावा खाँदै माथि माथिसम्म उड्छन्, आकाश छ र त चन्द्रमा मुस्कुराउँछ, आकाश छ र त सूर्य चम्किदै आफ्नो यात्रामा लम्किन्छ। आकाशमै ताराहरू टिल्पिलाउँछन् र अनुपम सौन्दर्यको वर्षा गर्छन्। आकाश हुँदैनथ्यो भने के हुन्थ्यो? यस प्रश्नले आज पनि मलाई गंभीर बनाउँछ।
आकाशबारे कहिलेकाहीं म आज पनि बाल्यकालमै सोचे जसरी सोच्छु र एक विचित्रको अनुभूति हुन्छ। म आफूभित्रको आकाशलाई बाहिरको आकाशसँग जोड्न चाहन्छु र जीवनका अनेकन कष्टहरूका माझबाट अघि बढिरहन चाहन्छु। आकाश मेरा निम्ति उचाइ, फैलावट र सौन्दर्यको प्रतीकका रुपमा रह्यो र रहनेछ।
आकाशले आकाश छुने धुन ममा जन्मायो। ‘उद्देश्य के लिनु उडिछुनु चन्द्र एक’ भन्ने देवकोटाको कवितांशलाई जीवनमा धेरैपटक दोहोर्याएको छु र अहिले पनि दोहोर्याउने गर्छु। यद्यपि, आकाश छुने सन्दर्भमा आजका मेरा धारणाहरू हिजोका जस्ता छैनन्। हाम्रो समाजले अत्यन्त उपयोगितावादी दृष्टिकोणले निर्माण गरेको आकाश छुनुसँग मलाई डर लाग्छ। साच्चै भनुँ भने त्यस्तो आकाश छुनुको म कुनै खास अर्थ देख्दिन।
मेरा निम्ति आकाश छुनुको अर्थ जीवनको रचनात्मक क्रियाशीलता हो। आकाशले आकाश छुने प्रेरणा अहिले पनि मलाई प्रदान गर्छ। म जीवनमा अझै केही गर्नु छ भन्छु र सक्रिय हुन्छु। मेरो यो सक्रियता स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यसँग जोडिएको छ। मेरा निम्ति जीवनको उचाइ वैयक्तिक स्वार्थ र फाइदाहरूका निम्ति हिंड्नु र अघि बढ्नु होइन। आकाशलाई उचाइ र फैलावटको प्रतीकको रुपमा हेर्ने मैले जीवनको सफलतालाई परिवर्तनका निम्ति चल्ने संघर्षहरूसँग जोडेर हेर्ने गरेको छु।
सानो छँदा आमाले भनेको आकाश छुने कुरा मेरा निम्ति अहिले पनि जीवन्त लाग्छ। सोझो अर्थमा आमाले भनेजस्तै पहाडका टाकुराहरू चढेर आकाश छुन संभव छैन। सोच्छु आमाको यो अभिव्यक्ति पनि लाक्षणिक नै हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।