हे राम!
कुनै बेलाको डाँकू हृदय
परिवर्तित भयो काव्य हृदयमा
संवेदना जागृत भयो
आँखा आँसुले सजल बने
क्रौँच पन्छीको विलापमा
र तिमी जन्मियौ
उनको कलमबाट ।
जसरी देवकोटाले ‘मुना’ जन्माए
जसरी जन्माए समले ‘सन्ते’
जसरी जन्माइन् पारिजातले ‘सकम्बरी’
जसरी जन्माए गोर्कीले ‘पावेल’
प्रेमचन्दले ‘होरी’
र लियो टल्स टोयले ‘नतासा रोस्तोभा’
हे राम!
त्यसैगरी तिम्रो
रचना गरे बाल्मीकिले।
जसरी रमेश विकलविना
जन्मने थिएन ‘अविरल बग्छ इन्द्रावती’
ध.च. गोतामेविना
जसरी जन्मने थिएन ‘घामका पाइलाहरू’
‘जङ्गलका दाबेदार’ हुने थिएन
महाश्वेतादेवी नभएको भए
‘हन्ड्रेड इयर्स अफ सोलिच्युड’
हुन्नथ्यो मार्खेजविना
बाल्मीकि नभएको भए
‘रामायण’ हुने थिएन
‘रामायण’ नभएको भए
हे राम!
तिमी हुने थिएनौ।
विचार र आदर्शको एउटा फ्रेममा
तिमी कुँदियौ
त्यहाँ तिमीसँगै सीता जन्मिइन्
दशरथ, कौशिल्या, केकेयी,
लक्ष्मण, हनुमान, सुग्रीव, बाली
रावण मेघनाथ, कुम्भकर्ण, विभीषण
सुपर्णखा, लवकुश, अयोध्या, लङ्का, समुद्र, पहाड सबै जन्मिए
हे राम! त्यसपछि आरम्भ भयो
सुन्दर लयमा तिम्रो कथा भन्न।
हे राम!
विस्मित छु
कल्पनाको चमत्कार देखेर बाल्मीकिको
तर, क्रमशः काव्यनायकबाट ईश्वर बनाइयौ तिमी
पुजिन थाल्यौ अवतारका रूपमा
मिथलाई बनाइयो इतिहास
कल्पनालाई यथार्थ
लड्दैछन् भक्तहरु
बाबरी मस्जिद र राम जन्मभूमिका नाममा
ठोरी र अयोध्याका नाममा
राजनीतिको रोटी सेकिदैछ
तिम्रो नाममा
मौलाउँदैछ ‘राष्ट्रवाद’को खेती।
सोच्छु
बाँचेको भए बाल्मीकि
कति छक्क पर्दा हुन्
कति हुँदो हो ग्लानी
सायद अयोध्याको चोकमा उभिएर
जलाउँदा हुन् आफ्नै कृति
र निस्कदा हुन्
तिमी जस्तै वनवासतिर
दुई हात जोडेर
आफैँले रचना गरेको
तिमीसँग सोद्धा हुन्–
हे राम!
भक्तहरूको यस धन्दामा
कहिले लाग्नेछ बिराम
र तिमी मुक्त हुनेछौ
उनीहरूले
निर्माण गरेको कारागारबाट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।