काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पहिलो चरणमा ५ जना छनोट भएका छन्। यसअघि परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा मन्त्रालयका सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन्।
उक्त पदका लागि नेप्सेका निमित्त सीईओ निरञ्जन फुयाल, नेप्सेकै प्रवीण पन्दाक, रमेशकुमार भट्टराई, रमेश धिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतमले आवेदन दिएका थिए।
सिफारिस समितिले पहिलो चरणमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारीलाई छनोट गरेको छ। छनोटमा परेका उम्मेदवारले आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतीकरण गर्नुपर्ने समितिले जनाएको छ।
पहिलो चरणमा छानिएका ५ जनामध्येबाट कार्यपत्र प्रस्तुतीकरणका आधारमा समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। अन्तिम तीनमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ छान्नेछ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।