काठमाडौं– पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ। नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ। महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १३औं संस्करणको महोत्सव हुन लागेको हो। महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको आयोजकको भनाइ छ। महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए।
विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो।
यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए। महोत्सव परिसरमा २० रेष्टुरेन्ट रहने जनाउँदै उनले सबैको बुकिङ भएको बताए। विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिए।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहने छन्। नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए।
दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने महोत्सव प्रचार–प्रसार समिति संयोजक सुमन श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।