काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन्।
बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्।
उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए। मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने दाबी गरे।
आज नारायणहिटीमा अवलोकनका लागि जाने उनले उल्लेख गरे।
‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस्। चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ’ उनले भने, ‘नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिकरुपमा हामीले रोकेका छौँ। फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ। आज हामी त्यहाँ अवलोकन गर्न जादैछौँ । त्यहाँ स्ट्रक्चरहरु जुन निर्माण भएको छ, त्यो पनि हामी हेर्छौ । र त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ त्यो हामी गर्छौं।’
उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।