काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ७७ वटै जिल्लाका अधिवेशन शुक्रबार एकै दिन सुरु हुँदै छ। केही दिनअघि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पुस २३ गतेका लागि जिल्ला अधिवेशनको मिति तोकेको थियो।
भोलिदेखि सुरु हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्ने भएका छन्।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहान ११ बजे अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने तय भएको जानकारी दिए।
ओलीले अधिवेशन उद्घाटनसँगै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले सम्बोधन गर्न लागेका हुन्। देशभरका अधिवेशन स्थलमा अध्यक्ष ओलीको कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।
पहिले भने जिल्ला कमिटीको अधिवेशन फरक-फरक मितिमा हुने गरेको थियो। एमालेको विधानमा तीन/तीन वर्षमा जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।