काठमाडौं– राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अन्य निर्वाचनमा समेत निरन्तरता पाउने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
काठमाडौंको शंखरापुर–२ मा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए।
अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए। ‘ठूलो संख्यामा संगठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन्,’ उनले भने।
आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौं क्षेत्र नं. २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै अध्यक्ष नेपालले काठमाडौं जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शंखरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे।
‘आफ्नो क्षेत्रमा कोटेश्वरदेखि भक्तपुर र सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ।’
सो अवसरमा उनले नेकपा एमाले शंखरापुर–२ का वडा सचिव सोमबहादुर लामालगायतलाई पार्टी प्रवेश गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।