काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्दा मापदण्ड बनाइएको हो भन्दै प्रश्न गरेका छन्।
बुधबार आफू पक्षधरहरुको बैठकमा लिखित सम्बोधन गर्दै नेता कोइरालाले मनोनित भएका सबै नेताहरु सक्षम र योग्य नै भएको भए पनि सभापतिले के मापदण्ड बनाएर उनीहरुलाई नियुक्त गरेको हो भन्दै प्रश्न गरेका छन्।
पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्दै उनले त्यसो नभए किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठन् सक्ने बताए।
'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के “मापदण्ड" अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं,' उनले भनेका छन्,'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।'
सभापति देउवाले रुचाएको र नरुचाएकोबाट व्यक्तिको चयन हुँदा पार्छी दुर्घटनामा पर्न सक्ने उनले उल्लेख गरेका छन्।
'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने?' उनले भनेका छन्।
उनले आफूहरु पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन नसके पनि पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहेको बताए।
तीन तहको निर्वाचन अगाडि रहेको र कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन देशभर जाने बताउँदै उनले कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जाने बताए।
'हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं। हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौं। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।