काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान इमान्दार र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित रुपले पाखा लागाउनेविरुद्ध डटेर आवाज उठाउनु पर्ने बताएका छन्।
बुधबार अनामनगरस्थित होटेल बसेरामा सुरु भएको आफू पक्षका नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको बताएका छन्।
महाधिवेशनबाट आफू पक्षका केहीले महत्वपूर्ण जिम्मेवारी पाएको र केहीले पदीय जिम्मेवारीबाट बाहिरिनु परेको उनले उल्लेख गरेका छन्।
संगठमा जिम्मेवारी पाएकाहरुलाई कार्यकर्ताले मात्र नभइ आम नेपालीले आशा गरेको उनले बताएका छन्।
'अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउन हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ' नेता कोइरालाले भनेका छन्, 'लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिन् पर्छ। पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।