काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित मिति भन्दा एक दिन अगावै भारत जाने भएका छन्।
चार दिवसीय भारत भ्रमणका लागि देउवा जनवरी १०(सोमबार) जाने कार्यक्रम थियो। तर, उनी एक दिन अगावै अर्थात् आगामी आइतबार भारत भ्रमणमा जान लागेका हुन्।
देउवा भाइब्रेन्ट गुजरात वैश्विक सम्मेलनका भाग लिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जनाएको छ। प्रधानमन्त्रीको भ्रमण दलमा ३० सदस्य हुने जनाइएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लाम्सालले भनिन्, 'प्रधानमन्त्रीको चार दिवसीय भारत भ्रमणको योजना छ र यसका लागि तयारी चलिरहेको छ। भ्रमणका क्रममा कुन कुन अजेण्डामा कुरा हुनेछ भन्ने तयारी भइरहेको छ। कुनै ठोस निर्णय भइसकेको छैन।'
पाँचौपटक असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको यो दोस्रो विदेश भ्रमण हो। यस अघि उनी गत नोभेम्बरमा स्कटल्याण्डको ग्लासगोमा संयुक्त राष्ट्र संघले आयोजना गरेको जलवायु सम्मेलनमा भाग लिन गएका थिए। ग्लासगोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग देउवाको अनौपचारिक द्विपक्षीय वार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।