काठमाडौं– पार्टीलाई सशक्त बनाउन क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन्।
ईआईसीटी नेपालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिबीच पार्टीको महाधिवेशनअघि गरेको धारणा सर्वेक्षणको दोस्रो चरणको कार्यक्रमअन्तर्गत मंगलबार निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यमाझ गरेको विचार सर्वेक्षण विषयगत समूह छलफलमा नेताहरुले क्रियाशील सदस्य पार्टीका खम्बा भएकाले सदस्यता वितरणमा जोड दिएका हुन्।
उनीहरुले महाधिवेशन हुने वर्ष मात्र दिइने क्रियाशील सदस्यता वितरण निरन्तर गर्ने हो भने कांग्रेसलाई थप उर्जाशील बनाउन सकिने धारणासमेत राखेका छन्।
नेताहरुले पार्टीको आन्तरिक चुनावमा भएको प्रतिस्पर्धा धेरै नै भएको दृष्टान्त दिँदै आगामी आम निर्वाचनमा पनि यस्तै उर्जासहित जनतामाझ पुग्ने हो भने कांग्रेसको बहुमत सुनिश्चित रहेको दाबीसमेत गरे । त्यस्तै, महाधिवेशनमा विभिन्न क्लस्टरबाट युवा केन्द्रीय समितिमा निर्वाचित हुँदै गर्दा यसले पार्टी रुपान्तरण अझ बढी सशक्त बनाउने उनहिरुको भनाय थियो।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा सदस्यहरु ईश्वरी न्यौपाने, उदय शम्शेर जबरा, जिपछिरिङ लामा, डा चन्द्रमोहन यादव, सञ्जय गौतम, रमा कोइराला पौडेल, सरिता प्रसाईं, प्रदीपकुमार सुनारलगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।