चितवन- जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन्।
कार्यालय प्रमुख भिमसेन कार्कीका अनुसार गत मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत १० हजार २५० महिला र १० हजार ३५३ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। अभियानअन्तर्गत राप्ती नगरपालिकामा चार हजार १३०, रत्ननगर नगरपालिकामा दुई हजार २९६ र खैरहनी नगरपालिकामा दुई हजार ५३७ जनाले नाम दर्ता गराएका छन्। यस्तै माडी नगरपालिकामा एक हजार ५५१, कालिका नगरपालिकामा एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ६१४ जनाले नाम दर्ता गराएका छन्।
अभियानलाई कार्यालयले दुई चरणमा विभाजन गरेको थियो। पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तथा दोस्रो चरणमा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा नामावली संकलन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयमा एक हजार ९३३, जिल्ला निर्वाचन कार्यालयमा चार हजार ४९३ तथा इलाका प्रशासन कार्यालय माडीमा ८६६ जनाले नाम दर्ता गराएको उएले जानकारी दिए।
स्थायी बसोबास अन्य जिल्ला भइ चितवन आएर मतदाता नामावली संकलन गराउने ८७१ जना छन्। नामावली संकलन अभियान जारी छ। जिल्ला प्रशासन र इलाका प्रशासनमा एक एक तथा निर्वाचन कार्यालयमा पाँचवटा नाम संकलन स्थल राखेर काम भइरहेको छ। अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए।
२०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता थिए। उनीहरु सबै नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन्। २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। अभियानका क्रममा नामावली दर्ता गराउन आउने अधिकांश १८ वर्षभन्दा माथिका रहेको कार्कीले बताए। मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्तालगायत कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।